चिनियाँसँग बिहे गरेर चीन गएकि नेपाली चेलीको यस्तो बिजोग !I




श्रावण १९ - बेइजिङ ।

गत शनिबार नेपालचीन कुटनीतिक सम्बन्धको ६० औँ वार्षिकोत्सव धुमधामसँग मनाइँदै थियो ।

सरकारी स्तरमा यो खुसी छाइरहेको बेला एकजना नेपाली युवती भने चीनमा चरम घरायसी हिंसाका कारण घरबाट निकालिएकी छन् । गत फेब्रुअरी ३ तारिख २९ वर्षीय लिउ याङसँग बिहे गरेर चीनको हैलुङच्याङ प्रान्तमा पुगेकी धरानकी २२ वर्षीय रिना राई (नाम परिवर्तन) अगष्ट एक तारिख घरबाट निकालिएकी हुन् ।

बेइजिङस्थित नेपाली दूताबासको उद्दारपछि नेपाल जाने तयारीमा रहेकी रिनाले शरीरभरिको निलडाम देखाउँदै भनिन् ‘सासू र लोग्ने भएर दैनिक रुपमा पिट्न थाले । स्थानीय प्रहरीलाई मैले खबर गरेँ तर उनीहरुले पनि वास्ता गरेनन् ।’ बिहे गरेर ल्याएको केही महिनासम्म उनलाई श्रीमान् लिउ र सासू ससुराले राम्रै व्यवहार गरेका थिए । उनीसँगै बिहे गरेर आएका अन्य पाँचजना नेपाली युवतीमध्ये चारजना गर्भवती भइसकेका छन् ।

एकजना युवतीको दुई हप्ता अगाडि नेपाली दूतावासले उद्दार गरेर नेपाल फर्काइसकेको छ । उनी गर्भवती नभएपछि लोग्ने र सासूबाट कुटपिट हुन थालेको उनले बताइन् । ‘तँलाई बच्चा जन्मिएपछि छोडिदिन्छौँ भन्दै पिट्थे । ससुरा अलिक समझदार थिए । मलाई कुट्दा उनी छुट्याउन आउँथे’ उनले भनिन् ‘हैलुङर्याङ अत्यन्त चिसो ठाउँ भएकाले म सधैँ बिरामी भइरहेँ । अरु साथीहरु गर्भवती हुँदा म गर्भवती हुन सकिँन । त्यही भएर ममाथि हिंसा भएको जस्तो लाग्छ । उनीहरुले मलाई बिहे गर्नका लागि ८० हजार युआन दलाललाई दिएका रहेछन् ।’ उनको पाखुरा, छाती, ढाड र तिघ्रामा निलडाम छ ।

बारम्बारको हिंसा सहन नसकेर उनी एक हप्ता पहिले घरबाट भागेकी थिइन् । तर केही घन्टामै घर परिवारका मान्छे गाडी लिएर आएर र उनलाई बजारबाट पक्रिएर घरमा लगेर थुने । उनको पासपोर्ट पनि लुकाइदिए। पासपोर्ट लुकाएर राखेकाले भागेर जान सक्दिन भन्ने लागेकाले उनीहरु जहाँ जान्छेस् जा भनेर बारम्बार धम्क्याउँथे ।

उनले मोबाइलको विच्याटबाट बिहे गराउने पापा भन्ने मान्छेलाई गुनासो गरिन् । पापा पनि सोही प्रान्तको भएकाले एकपटक घरमा गएर परिवारका मान्छेलाई सम्झाएको थियो । तर पछि जति गुनासो गरे पनि ऊ पनि आएन । उनले त्यहीँबाट काठमाडौँस्थित केन्द्रीय अनुसन्धान विभागमा उद्दारको अनुरोध गरिन् । तर प्रहरीले पनि आफूहरुले केही गर्न नसक्ने बताएपछि उनले नेपाली दूताबास बेइजिङको ठेगाना खोजिन् । अर्की एक नेपाली युवतीमार्फत नेपाली दूताबासको विच्याट सम्पर्क पाएपछि उनी दूताबासको सम्पर्कमा पुगेकी हुन् ।

दूताबासले उद्दारको तयारी गर्दागर्दै उनी अगष्ट एक तारिख शनिबार हैलुङच्याङ प्रान्तको पूर्वउत्तर रुससँग सिमा जोडिएको थोङच्याङस्थित घरबाट भागिन् । उनी दिनभर मकैबारीमा लुकेर बसिन् र रातपरेपछि सडकमा निस्किएर दस किलोमिटरभन्दा बढी हिँडिन् । एउटा घर भेटेपछि उनले बास मागिन् । त्यही घरको मोबाइल मागेर नेपाली दूतबासका तृतीय सचिव उत्तम घिमिरेसँग विच्याटमा सम्पर्क गरिन् । त्यही घरमा रात बिताएकी उनलाई बिहान तीन बजे नै त्यहाँबाट पनि जान भनियो । उनी नजिकैको अर्को घरमा गइन् र शरण मागिन् । त्यहाँबाट फेरि घिमिरेसँग सम्पर्क गरिन् र आइतबार दिनभर र राति त्यही घरमा बसिन् ।

सोमबार बिहानै त्यो घरको मान्छेले उनलाई च्यामुसीको बसमा ५० चिनियाँ युआनको टिकट काटेर चढाइ दियो र थप एक सय युआन बाटो खर्च पनि दियो । पछि दूताबासले ती सहयोगीको मोबाइल मार्फत सो रकम फिर्ता गरिसकेको घिमिरेले बताए । सोमबार बिहानै नेपाली दूताबासबाट रिनाको उद्दार गर्न हैलुङच्याङ प्रान्तको च्यामुसी पुगेका घिमिरेले च्यामुसी सार्वजनिक सुरक्षा कार्यालयमा लगेर ट्राभल्स डकुमेन्टमा भिसा हानेर बेइजिङ ल्याए । उनलाई मंगलबार राति मलेसियन एयरलाइन्सबाट काठमाडौँ लगिँदै गरेको घिमिरेले बताए ।

व्यवस्थापन विषयमा उच्च माध्यमिक तह उत्तीर्ण गरेकी रिना सानै हुँदा उनका बुबा आमाको मृत्यु भएको हो । आफ्नी सानी आमा (छेमा)ले पालनपोषण र शिक्षा दीक्षा दिएको बताउने रिनाले स्वाभलम्बी बन्नका लागि चिनियाँ केटासँग बिहे गरेको खुलाइन् । नेपाली एजेन्ट र चिनियाँ एजेन्टले उनलाई चीनबाट हङकङ सजिलै जान सकिन्छ र महिनाको लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ भनेर फकाएका थिए ।

चीनमा नेपाली युवतीहरुमाथि चरम हिंसा हुने गरेको घटना बारम्बार आउने गरेकाले दलाल मार्फत बिहे गरेर नेपालबाट ल्याउने कुरालाई नै निरुत्साहित गर्नुपर्ने नेपाली दूताबास बेइजिङका मिनिस्टर निर्मल काफ्ले बताउँछन् । अन्य विभिन्न स्थानबाट पनि नेपाली युवतीहरुले हिंसा भोगिरहेको गुनासो आएको र स्थानीय प्रहरीको सहयोगमा केही व्यवस्थापन गरिए पनि दीर्घकालीन रुपमा समाधान गर्न गार्‍हो भएको बताउने काफ्लेले मानव तस्करीको रुपमा नेपाली युवतीलाई कथित बिहे गरी चीनमा ल्याउनलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताए ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment